विराटनगर : सुनसरीको इनरुवाबाट उपचारका लागि विराटनगर आएका एक पुरुषको शव कोसी अस्पतालको शौचालयमा भेटिएको छ । जिल्ला अस्पताल इनरुवा सुनसरीको ओपीडी (बहिरंग विभाग)को पूर्जा हातमा बोकेको अवस्थामा शव भेटिएको हो ।
कोसी अस्पतालको ओपीडी भवनमा रहेको पुरुष शौचालयभित्र मंगलबार दिउँसो १ :३० बजेतिर शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार घोप्टो परेर लडिरहेको तथा मुखबाट फिँज निस्किरहेको अवस्थामा मृत भेटिएका पुरुष इनरुवा नगरपालिका–३ का ६१ वर्षीय होमराज पोखरेल रहेको खुलेको छ ।
अस्पतालको ओपीडी पूर्जामा उल्लेख भएको विवरण अनुसार प्रहरीले मृतकको पहिचान खुलाउन सकेको हो । होमराजलाई इनरुवा अस्पतालले थप उपचारका लागि विराटनगरको कोसी अस्पताल रेफर गरेको ओपीडी पूर्जामार्फत खुलेको डीएसपी श्रेष्ठले बताए ।
इनरुवाले रेफर गरेपछि उनी थप उपचारका लागि कोसी अस्पताल आएको प्रहरीको अनुमान छ । तर उनले कोसी अस्पतालमा उपचारका लागि ओपीडी पूर्जा काटेको वा नकाटेको भन्ने बारेमा खुल्न बाँकी रहेको श्रेष्ठको भनाइ छ ।
दिसापिसाब गर्न शौचालय गएका बेला लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ । ‘साथबाट मधुमेहलगायतका रोगका औषधि पनि भेटिएको छ,’ श्रेष्ठले भने, ‘त्यसका आधारमा स्वास्थ्यसम्बन्धी पुरानो समस्याको औषधि सेवन गरिरहेको हुनसक्छ ।’
घटना भएको आधा घण्टासम्म मृतकका आफन्त सम्पर्कमा आएका छैनन। प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि कोसी अस्पतालको शव गृहमा राखेर घटनाका बारेमा अनुसन्धान थालिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय