पोखरा । राजीव गुरुङ अर्थात् दीपक मनाङे गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री नियुक्त भएको आइतबार ६० दिन पुगेको छ ।
भ्रष्ट्राचार निवारणसम्बन्धी ऐन, २०५९ अनुसार पदभार सम्हालेको दुई महिनाभित्र उनले सम्पत्ति विवरण सार्वजनिक गरिसक्नुपर्ने हो । तर, मन्त्री मनाङेले अटेरी गरिरहेका छन् ।
तेस्रो पटक मन्त्रालय सम्हालेको ६० दिन पुगेको अवसरमा आइतबार उनले पत्रकार सम्मेलन राखेका थिए । त्यस क्रममा मन्त्री मनाङेले ६० दिनमा आफूले गरेको काम र आगामी योजना सुनाए । कार्यक्रमको अन्तिममा सोधियो, ‘सबै मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरिसके । तपाईंले किन गर्नुभएन ?’
मन्त्री मनाङेले सम्पत्ति सार्वजनिक गर्न खोजे पनि आफूसँग के छ ? के छैन भन्नेबारे नै ‘कन्फ्युज’ भइरहेको जवाफ फर्काए । ‘मेरो सम्पत्तिबारे म आफैं कन्फ्युज छु । मेरो के छ ? के छैन ? जम्मै पहिलेको श्रीमती, छोराछोरीको नाममा राखिदिइसकेको छु । मेरो भनौं भने मलाई एक आना जग्गा दिने पनि होइनन्,’ उनले भने ।
मन्त्री मनाङेले ‘केटा’हरुलाई थुप्रै लगानी गरिदिएको तर, त्यताबाट पनि सम्पत्ति फिर्ता नआएको बताए । ‘पहिले बिजनेस गर्दा केटाहरुलाई लगानी गरिदिएको छु । धेरै यस्तो पैसा छ, जुन मसँग आएको छैन,’ उनले भने, ‘आउनेवाला छ भनेर लेख्न पनि गाह्रो ! मेरो नाममा केही छैन ।’
आफूसँग भएको केही सम्पत्ति पनि मुद्दा मामिलामा रहेको मनाङेले बताए । ‘त्यो मुद्दा पनि जसलाई मैले बैना हान्यो, बैना गर्ने मान्छे पनि ठगै रैछ, त्यस्तो मुद्दावाला ३/४ वटा प्रोपर्टी छ,’ उनले भने, ‘त्यो प्रोपर्टी पनि अहिलेको होइन, पहिलेकै दामवाला हो । १ लाख, डेढ लाखवाला ।’
मनाङेले ०७० सालमा अवैध सम्पत्ति राखेको आरोपमा मुद्दा खेपेका थिए । तर, ०७४ सालमा विशेष अदालतबाट सफाइ पाए । आफूमाथि प्रहरीले रिस गरेर सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएको मन्त्री मनाङेले टिप्पणी गरे ।
‘सम्पत्ति शुद्धीकरणको मेरोमात्रै यस्तो केश हो, जुन सर्वोच्च (अदालत) जान पाएन । नत्र अरु सबैको गा’को छ,’ उनले भने, ‘विदेश गएको बेला हुन्डी गरेर नेपाल पैसा पठाएको भनेको थियो । मुख्य न्यायाधीशकै छोरा पनि हुन्डी गर्दो रै’छ । जमाना नै त्यस्तो थियो । आइएमई पनि रजिस्ट्रर भइसक्या थिएन ।’
आफूले ५८ सालदेखि नै व्यापार छोडेको, अहिले कुनै व्यापार, व्यवसाय नरहेको र अब व्यापारमा फर्किने सोचमा रहेको मन्त्री मनाङेले सुनाए । ‘अब फेरि व्यापार गर्ने ट्राइ गरिाराछु । यो मन्त्रालय सेटअप भइसकेपछि फेरि हामीले नि भात त खानुपर्‍यो हेर्नुस् । यो पैसा (तलब भत्ता) ले त च्या खान पनि पुग्दैन,’ उनले भने ।
मन्त्री मनाङेले सम्पत्ति विवरण सार्वजनिक गर्ने वा नगर्ने केही बोलेनन् । आफूसँग सम्पत्ति भए पनि मुद्दा मामिला रहेको भन्दै उनी पत्रकार सम्मेलन सकिएको भन्दै बाहिरिए । ‘म त गइहालें । तपाईंहरु एकैछिन बस्दै गर्नुन..’ भन्दै उनी बैठक कक्षबाट बाहिरिएका थिए ।
यसअघिको पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा मनाङेले युवा तथा खेलकुद मन्त्रालय नै सम्हालेका थिए । तत्कालिन मुख्यमन्त्री गुरुङले मनाङेलाई पहिलो पटक वैशाख १६ मा सामाजिक विकास मन्त्रालय टुक्र्याएर बनाएको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
तर त्यसको १० दिनमै मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि मनाङे पनि पदमुक्त भएका थिए । उनी पुन जेठ ९ गते मन्त्रीमा दोहोरिए । तर उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनलाई साथ दिएपछि मुख्यमन्त्री गुरुङ पदमुक्त भए ।
तेस्रो पटक मनाङे जेठ २९ गते विना विभागीय मन्त्रीका रुपमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको मन्त्रिपरिषदमा सहभागी भए । उनीसँगै शपथ लिएका अरु सबै मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरिसकेका छन् ।
गण्डकी प्रदेश सरकारका कृषिमन्त्री चन्द्र बुढामगरले पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । साउन ८ गते मन्त्री नियुक्त भएका उनले सम्पत्ति विवरण सार्वजनिक गर्ने समय अझै १० दिन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय