काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट शुरु भएसँगै महाधिवेशनै लक्षित गरी आज काठमाडौं उपत्यकामा पाँच हजार बढी प्रहरीहरु परिचालन गरिएको छ । महाधिवेशनको समारोहस्थल भृकुटीमण्डपमा तीन घेरा बनाएर सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । अघिल्ला दिनहरुको तुलनामा आज काठमाडौं उपत्यकामा भित्रिने सवारी साधनहरुकोदचाप बढेसगै
चक्रपथ तथा उपत्यका प्रवेश गर्ने प्रमुख नाका, प्रतिनिधिहरु बसेको क्षेत्र, भीभीआईपी र भीआईपी रुटहरुमा पनि निगरानी बढाइएको छ । त्यसका लागि सादा पोशाकका प्रहरी परिचालन गर्नुका साथै सीसीटीभी क्यामराबाट पनि निगरानी गरिएको प्रहरीले जनाएको छ । कार्यक्रमस्थलमा ट्राफिक जाम नहोस् भन्ने सोचका साथ आज पद्मोदय मोड, कमलादी मोड, सभागृहमोड, सिंहदरबार चोक र माइतीघरबाट डाइभर्सन गरिएको छ ।
टुँडिखेल वरपर अत्यधिक सवारी साधनको चाप भएमा त्रिपुरेश्वर चोक, बालाजु चोक, नारायणगोपाल, कलंकी, बल्खु, जावलाखेल, तीनकुने र गौशाला चोकबाट नै डाइभर्सन गर्ने गरी सुरक्षा योजना बनाइएको छ । मानिसहरुको उपस्थिति र सवारीको चाप हेरेर आवश्यकतानुसार सवारी रुट डाइभर्सन हुनसक्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । महाधिवेशनमा आएका प्रतिनिधिहरुका निम्ति खुलामञ्चमा सवारी साधन पार्किङको व्यवस्था मिलाइएको छ । झण्डावाला, पार्टी अध्यक्षहरू र विदेशी पर्यवेक्षकका गाडी भृकुटीमण्डपको सभाहल पछाडि तथा अन्य भिआइपीका सवारी साधन राष्ट्रिय सभागृहमा पार्किङको व्यवस्था मिलाइएको छ ।