१२ औं जितपुर सिमरा गोल्डकपमा हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा आईतवार भएको खेलमा शिमालयन शेर्पा क्लबलाई ३–२ ले पराजित गर्दै एपिएफले सेमिफाईनलको यात्रा तय गरेको हो । एपिएफको जीतमा दीपेश धिमाल, बिकी तामाङ र अर्मान्ड बेडमले गोल गरे । शेर्पाका लागि विश्वास श्रेष्ठ दुई गोल गरेपनि हार टार्न सकेन ।

रोमाञ्चक खेलमा शेर्पाले आक्रामक सुरुवात गरेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन् । खेलको सुरुवातमै शेर्पाले वान भर्सेस वानको स्थितिमा गोल गर्ने अवसर गुमायो । शेर्पाका अफिज ओलावाले ओलाडिपोको प्रहार क्रसबारबाट बाहिरियो । सुरुवातमा बल पोसेसन राखेको शेर्पाले खेलको २७औं मिनेटमा पहिलो गोल खान पुग्यो ।

कप्तान नविन लामाको कर्नर बललाई सदुपयोग गर्दै एपिएफका दिपेश धिमालले टिमलाई अग्रता दिलाए । दिपेशको गोलसँगै आक्रामक बनेको एपिएफले ३३औं मिनेटमा अग्रता दोब्बर बनायो । कप्तान नविनको क्रसलाई बिकी तामाङले सदुपयोग गरेका थिए । सुरुवात राम्रो गरेपनि एपिएफले अग्रता लिएपछि दवावमा देखिएको शेर्पाले खेलको ३३औं मिनेटमा गोलअन्तर घटाउने राम्रो अवसर गुमायो । शेर्पाका बिकास मेराग्लियाले र अफिज ओलावाले गोल गर्ने गुमाए ।

दोस्रो हाफमा दुवै टिम आक्रामक देखिए् । ५०औं मिनेटमा कप्तान विश्वास श्रेष्ठले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । दिपेश धिमालले शेर्पाका बिकास मेराग्लियालाई लडाएपछि पाएको पेनाल्टीमा कप्तान विश्वासले कुनै गल्ती गरेनन् । ५६औं मिनेटमा एपिएफले तेस्रो गोल थप्यो । प्रदीप लामाको क्रसलाई सदुपयोग गर्दै अर्माण्ड बेडमले गोल गरेका हुन् ।

६८औं मिनेटमा विश्वासले आकर्षक गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे । डिबक्स बाहिरबाट बिश्वासले प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । घरेलु दर्शकको समर्थन पाएको शेर्पाले गोल अन्तर घटाएपछि प्रतिस्पर्धा रोमाञ्चक बन्न पुग्यो । ७१औं मिनेटमा सत्यम शर्माको प्रहार क्रसबारमा ठोक्किनु शेर्पाका लागि दुर्भाग्य सावित भयो । लगत्तै अफिजले गरेको प्रहार एपिएफका गोलरक्षक युया कुरियामाले उत्कृष्ट बचाउ गरे ।

एपिएफको जितमा उत्कृष्ट प्रर्दशन गरेका अर्माण्ड म्यान अफ दि म्याच घोषित भए । उनले पाँच हजार नगद हात पारे । प्रतियोगिता अन्तर्गत सोमबार आयोजक नव जनजागृति युवा क्लब र सुदूपश्चिम ११ बीच खेल हुनेछ ।

नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय