काठमाडौं : ६ वटै महानगरमा मतदाता बढेका छन् । निर्वाचन आयोगले दिएको विवरण अनुसार २०७४ सालको स्थानीय तहको चुनावको तुलनामा यो पटक मतदाता बढेका हुन् ।६ वटा महागरपालिकामध्ये सबैभन्दा धेरै पोखरा महागरपालिकामा ३९ हजार भन्दा बढी मतदाता बढेका छन् ।
२०७४ सालमा महिला ९० हजार ६८६ र पुरुष ७७ हजार ३८१ गरी पोखरामा कूल एक लाख ६८ हजार ६९ जना मतदाता थिए । पाँच वर्षको अवधिमा बढेर महिला मतदाता एक लाख १० हजार ६४१ र पुरुष ९७ हजार ७० जना गरी कूल दुई लाख सात हजार ७१२ पुगेका छन् । अर्थात, पोखरा महागरपालिकामा पाँच वर्षको अवधिमा ३९ हजार ६४३ मतदाता बढेका छन् ।
३९ हजार ६४३ मतदाता पोखरा महानगरपालिकामा महिला मतदाता १९ हजार ९५५ ले बढेको देखिन्छ । पुरुष पनि १९ हजार ६८९ ले बढेका छन् ।पोखरापछि चितवनको भरतपुर महानगरपालिकामा मतदाता बढेका छन् । २०७४ सालमा महिला ७९ हजार ९२ र पुरुष ७१ हजार १८१ गरी कूल एक लाख ५० हजार २७४ मतदाता थिए । २०७९ सालसम्म आइपुग्दा यो संख्या बढेर एक लाख ८५ हजार ७५२ पुगेको छ ।
निर्वाचन आयोगले दिएको विवरण अनुसार वैशाख ३० गते हुने निर्वाचनमा भरतपुर महानगरपालिकामा ९६ हजार ८६७ महिला र ८८ हजार ८८४ पुरुषले भोट हाल्न पाउँछन् । यो तथ्याङ्कले भरतपुर महानगरपालिकामा पाँच वर्षको अवधिमा ३५ हजार ४७८ मतदाता बढेको देखाउँछ ।
काठमाडौं र विराटनगर महानगरपालिकामा भने समान रुपमा मतदाता बढेको पाइएको छ । काठमाडौं महानगरपालिकामा २० हजार ९३३ र विराटनगरमा १९ हजार ३८१ मतदाता बढेका छन् ।
२०७४ सालमा काठमाडौंमा महिला मतदाता एक लाख ४४ हजार ६३८ र पुरुष मतदाता एक लाख ३४ हजार ६६९ मतदाता थिए । २०७९ सालमा आइपुग्दा महिला मतदाता एक लाख ५५ हजार ८७८ र पुरुष मतदाता एक लाख ४४ हजार ३६३ गरी कूल तीन लाख २४२ पुगेको छ ।
विराटनगरमा २०७४ सालको चुनावमा ५३ हजार २२५ जना महिला र ६० हजार ५३६ जना पुरुष गरी कूल एक लाख १३ हजार ७६१ मतदाता थिए । अहिले बढेर महिला मतदाता ६२ हजार ६१८ र पुरुष मतदाता ७० हजार ५२४ गरी कूल एक लाख ३३ हजार १४२ पुगेका छन् ।
मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा पाँच वर्षको अवधिमा १६ हजार १४६ जना मतदाता बढेका छन् ।
वीरगञ्जमा २०७४ सालमा महिला ४६ हजार ८३२ र पुरुष ६१ हजार ६६६ गरी जम्मा एक लाख आठ हजार ५०१ मतदाता थिए । अहिले बढेर महिला ५३ हजार ८३३ र पुरुष ७० हजार ८१० गरी कूल एक लाख २४ हजार ६४७ पुगेका छन् ।
पाँच वर्षको अवधिमा सबैभन्दा कम मतदाता बढेको महानगरपालिका हो– ललितपुर । जहाँ १० हजार २६८ जना थपिएका छन् ।
ललितपुर महागरपालिकामा २०७४ सालको चुनावमा महिला ५८ हजार ३३३ र पुरुष ५४ हजार ५८९ गरी जम्मा एक लाख १२ हजार ९२२ मतदता थिए । अहिले बढेर महिला ६३ हजार ४३७ र पुरुष ५९ हजार ४५३ गरी कूल एक लाख २२ हजार ८९० पुगेका छन् ।