निराज रानाभाट , काठमाडौं : शुक्रबार ( आज ) अंग्रेजी क्यालेण्डरको अप्रिल महिनाको १ तारिख । आजका दिनलाई विश्वका कयौं देशमा ‘ अप्रिल फूल ’ का रुपमा मनाउने गरिन्छ । आजको दिनलाई ‘ मूर्ख दिवस ’ पनि भन्ने गरिएको छ ।
यस दिनमा मानिसहरुले आफूहरुले चिने – जानेका छरछिमेक , इस्टमित्र , नातागोता , साथीभाइ लगायतलाई मूर्ख बनाउने वा झुक्काउने गरिदै आइएको छ । यस दिनलाई हँसिमजाकका रुपमा पनि लिइने गरिएको छ ।
अप्रिल फूल खासगरी क्यानडा , न्युजिल्याण्ड , वेलायत , अष्ट्रेलिया , इटाली लगायतका मुलुकमा मनाउने प्रचलन छ । पछिल्ला वर्षहरुमा आयातीत संस्कृतिका रुपमा नेपाली युवा पुस्तामारु अप्रील फूल मनाउने चलन लोकप्रिय हुँदै गएको छ ।
सन् १५८२ मा फ्रान्समा मार्च २५ देखि अप्रिल १ तारिख सम्मको समयावधिलाई नयाँ वर्ष सप्ताहको रुपमा उल्लेख गरिएको जुलियन क्यालेन्डरलाई विस्थापित गरेर जनवरी १ लाई नयाँ वर्ष मान्ने गरी ग्रेगरिएन क्यालेन्डर प्रचलनमा आएपछि अप्रिलको पहिलो दिनलाई मुर्ख दिवसको रुपमा मनाउन थालिएको हो ।
अप्रिलको सट्टा जनवरीको पहिलो दिन नयाँ वर्ष मनाउन शुरु भैसक्दा समेत जुलियन क्यालेन्डर स्वीकार गर्नेहरुले अप्रिलको पहिलो दिनलाई नै नयाँ वर्ष मनाउन थालेपछि ग्रेगरियनहरुले उनीहरुलाई परम्परावादी भनेर जिस्क्याउन थालेको र यसैबाट मूर्ख दिवस शुरु भएको भनाइ छ ।
विशेषगरी बालबालिका र युवा पुस्तालाई यो दिवसले विशेष लोभ्याउने गरेको छ । नेपालमा पनि पछिल्ला वर्षहरुमा अप्रिल फूल मनाउँदै आइएको छ ।