निराज रानाभाट , चितवन : चितवन जिल्लामा पहिलोपटक बालबालिकामा सञ्चालन गर्न लागिएको टाइफाइड विरुद्धको खोप अभियानको तयारीलाई तीब्र पारिएको छ । स्वास्थ्य कार्यालय चितवनले बालबालिकाको संख्या संकलन , जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण तालिम लगायतको कार्यलाई तीब्र पारेको हो ।

‘ चैत २५ गतेदेखि सञ्चालन हुन लागेको खोप अभियानलाई सफल बनाउन सोमबारदेखि तालिम सञ्चालनका काम थालेका छौँ । चैत १४ र १५ गते स्थानीय तहका स्वास्थ्य संस्था प्रमुखलाई तालिम प्रदान गर्‍यौं ,’ स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख राम के.सी. ले भने , ‘ अब स्वास्थ्य संस्थाका प्रमुखहरुसँग दुई दिनको अभिमुखीकरण तालिम सञ्चालन गर्छाैँ । ’ के.सी. का अनुसार चैत २३ गतेसम्म स्वास्थ्यकर्मी तथा स्वयंसेविका लागि अभिमुखीकरणका कार्यक्रम सञ्चालन हुने छन । स्थानीय तहले बालबालिकाको विवरण संकलन गरिरहेका छन् ।

चितवन जिल्लामा वि.सं. २०७८ साल चैत २५ गतेदेखि वि.सं. २०७९ बैशाख १८ गतेसम्म बालबालिकालाई टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुने छ । यो अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप प्रदान गरिने निमित्त प्रमुख के.सी. ले जानकारी दिए । ज्वरो आएको समयमा दिन नमिल्ने उनले बताए । विशेषगरि एकपटक लगाएपछि अर्को पटक लगाउन पर्दैन । सरकारले यस कार्यक्रमलाई नियमित अभियानका रुपमा सञ्चालन गर्दै लैजाने उनले बताए ।

‘ सरकारले देशैभर राष्ट्रिय अभियानका रुपमा खोप कार्यक्रम ल्याएको छ ’, उनले भने ‘ दुई वर्ष सरकारले झाडापखला रोक्नका लागि सञ्चालन गरेको ‘ रोटा खोप ’ जस्तै नियमित प्रकृयामा सञ्चालन हुन्छ । ’ चितवन जिल्लामा यो समूहका करिब १ लाख ३२ हजार बढी रहेको अनुमान छ । सोही अनुसार तयारी गरिएको उनले बताए । चितवन जिल्लाका सबै विद्यालय र स्वास्थ्य संस्थामा खोप लगाउने गरि तयारी थालिएको छ । ७ स्थानीय तहमा १ सय ९ वटा स्वास्थ्य संस्था छन ।

पूरा टाउको दुख्ने दूषित खानापानीबाट लाग्ने रोगको सुरक्षा प्रदान गर्नका लागि यो खोप महत्वपूर्ण मानिएको छ । नेपालमा १५ वर्षमुनिका १ लाख बालबालिकामध्ये ११ हजार जनालाई टाइफाइड देखिने गरेको भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिए । भरतपुर महानगरपालिकमा रोग नियन्त्रण गर्नका लागि ६० हजार बालबालिकामा खोप लगाउने गरि तयारी थालिएको उनले बताए । एक पटक लगाएपछि दादुरा रुबेला खोपको दोस्रो मात्रा दिने समयमा टाइफाइड विरुद्धको खोप लगाउने गरि सरकारले कार्यक्रम ल्याएको छ । यो खोप भारतमा बनेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय