निराज रानाभाट , भरतपुर , चितवन : चितवन जिल्लामा रहेका सबै किराना व्यवसायीहरुलाई समेट्न जोड दिइएको छ । किराना व्यवसायी संघ – चितवनको सोमबार ( अाज ) सम्पन्न ` १० औं साधारण सभा तथा अधिवेशन ´ मा बोल्ने वक्ताहरुले जिल्लाभरका व्यवसायीहरुलाई संस्थामा सनेट्न जोड दिइएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले सबैलाई संघमा आवद्ध हुन आग्रह गरे । उनले बजारको शुरूवात किराना व्यवसायबाट नै हुने भएकोले बजारीकरणमा किराना व्यवसायीहरुको भूमिका महत्त्वपूर्ण हुने बताए । यस्तै , किराना व्यवसायकै कारण नारायणगढ बजार विस्तार भएको उनको भनाइ थियो ।
उनले किराना व्यवसायीहरुका लागि संघले विभिन्न कार्यक्रम गर्ने प्रतिवद्धता समेत जनाए । यस्तै , व्यवसायीको कुनै पनि समस्या भए बसेर समाधानको बाटो खोजिने उनको भनाइ थियो ।
उद्योग वाणिज्य संघका उपाध्यक्ष शिरिष पन्तले भरतपुर महानगरपालिका भित्र मात्रै १ हजार भन्दा बढी किराना व्यवसायी रहेको भन्दै ती सबैलाई संस्थामा समेट्न पर्नेमा जोड दिए । उनले अहिलेको कार्य समितिले धेरै राम्रो काम गरेको भन्दै अब संघमा देखिएको कम उपस्थितिलाई बढाउन सबैलाई समेट्नु पर्नेमा जोड दिए ।
यस्तै , उनले करको नाममा आफ्नो पसलको परिचयका लागि राखिएको बोर्डको कर नतिर्न पनि व्यवसायीहरुलाई अपिल गरे । उनले आर्थिक कारोबार हुने क्षेत्रमा समस्या पनि हुने भन्दै एक भएर समस्याको समाधानमा आग्न जोड दिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भरतपुरका प्रमुख घननाथ अधिकारीले खाद्य स्वच्छता कायम गर्न व्यवसायीको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले व्यवसायीहरुले मापदण्ड पालना गरेर जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।
आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख घनश्याम पन्थीले व्यवसायीले आफू जानकार हुनु पर्ने विषयमा ध्यान दिन सके करबाट डराउनु पर्ने अवस्था नआउने बताए । कानुनी रुपमा काम गर्दा कार्यालयले व्यवसायीलाई सधैं सहयोग गर्ने उनको भनाइ थियो ।
यस्तै , उनले चितवनमा ३ हजार भन्दा बढी किराना व्यवसायीहरु रहेको भन्दै सबैलाई संघमा आवद्ध हुन र समेट्न आग्रह पनि गरे । राजस्व कार्यालयले कर सहभागीता बढाउने अघि सारेको उनको भनाइ थियो ।
संघका अध्यक्ष रविन्द्र कुमार श्रेष्ठले स – साना व्यवसायीहरुलाई कारबाहीको नाममा शुरुमा नै प्रशासनले ठूलो जरिवाना तोक्ने गरेको भन्दै जरिवाना भन्दा सचेत गराउनु पर्नेमा जोड दिए । सचेत गराउँदा पनि अटेर गर्नेलाई भने कारबाही गर्नु पर्ने उनको भनाइ थियो ।
उनले गलत गर्नेलाई जोगाउन संघ कहिल्यै नलाग्नेतर्फ पनि व्यवसायीहरुलाई सचेत गराए । संघ व्यवसायीहरुको हक हितकै लागि स्थापना भएको भन्दै यसको आवश्यकता महशुस गरेर जोडिन सबैलाई आग्रह गरे ।
कार्यक्रममा संघका महा – सचिव हरिराज पौडेलले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष बालकृष्ण श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए । संघको अधिवेशन पनि आजै हुँदै छ । अधिवेशनले नयाँ कार्य समिति चयन गर्ने छ ।
यसैबीच , किराना व्यवसायी संघको स्मारिका बिमोचन गरिएको छ । सोही कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उक्त ‘ किराना स्मारिका ’ बिमोचन गरेका हुन ।