निराज रानाभाट , चितवन : चितवन जिल्लामा अघोषित रुपमा लोडसेडिङ हुन थाले पछि नागरिकले सास्ती झेल्न बाध्य भएका छन् ।

बिना सूचना र तालिका लोडसेडिङ हुन थाले पछि व्यवसायी र सर्वसाधारण नागरिक आक्रोशित भएका हुन् ।

पछिल्लो समय देशव्यापी रुपमा देखिएको विद्युत् आपूर्तिको समस्या चितवन जिल्लामा पनि बल्झिएको छ । चितवन जिल्लामा विगत १ सातादेखि दैनिक दर्जन पटक विद्युत् आउने जाने समस्या उत्पन्न भएको छ । जसले गर्दा औद्योगिक क्षेत्रमा समस्या भएको छ भने गर्मीको समयमा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

विद्युत् प्रधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनियर राजेन्द्र पौडेलकाअनुसार खोलामा पानीको सतह कम भएको कारण हाल भरतपुरका विभिन्न क्षेत्रको विद्युत् आपूर्तिमा समस्या भएको हो । जिल्लामा माग बढी र विद्युत् आपूर्ति कम भएका कारण वितरण केन्द्रमा विभिन्न समस्या आएको उनले बताए । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिबकुमार सिंहले २ दिन भित्र भरतपुरको विद्युत्काे समस्या समाधान हुने बताए । उनले भने , ‘ आँपटारीमा नयाँ शबस्टेशन निर्माण सकिएको छ । सञ्चालनमा आउने बित्तिकै यो समस्या हल हुन्छ । ’

चितवन जिल्लामा पछिल्लो समय दैनिक रुपमा झ्याप झ्याप बत्तीजान थाले पछि औद्योगिक क्षेत्रमा करोडौँको घाटा भएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण क्षेष्ठले बताए । उनका अनुसार ४/५ घण्टा लगाएर कच्चा पदार्थ तताउन पर्ने उद्योगमा बत्ती गए पछि पुनः तताउँदा उद्योगलाई आर्थिक भार पर्ने गर्छ । त्यस्तै , उत्पादन लागत बढ्ने र मूल्यमा बृद्धि हुने उनले जानकारी दिए ।

पछिल्लो समय यो विषयमा उद्योग वाणिज्य संघले नेपाल विद्युत् प्राधिकरणको ध्यान आकर्षण गराएको र यसको समाधान केही समय पछि हुने जवाफ केन्द्रबाट आएको उनको भनाइ छ । बत्ती आउने र जाने हुँदा विद्युतीय उपकरणहरु बिग्रने पनि व्यवसायीहरुको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय