निराज रानाभाट , काठमाडौं : काठमाडौं उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङगा – मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढेको छ । सो सडक बैशाखको १५ गतेसम्ममा ठेक्का सम्झौता गर्ने गरि तयारी भएको छ ।

सो सडकमा ३ प्याकेजमा काम हुन लागेको बताइएको छ । ३ प्याकेजमध्ये अहिले नागढुङ्गा – नौबिसे र नौबिसे – मलेखु सडक निर्माणका लागि ठेक्का आह्वान गरिएको नागढुङ्गा – नौबिसे सडक आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिए । यससँगै अहिले परामर्शदाताको पनि छनौट गर्ने प्रक्रिया अघि बढाइएको छ । नागढुङ्गा – नौबिसे सडकको लम्बाई १२ किलोमिटर र नौबिसे – मलेखु साढे ४३ किलोमिटर हो ।

नागढुङ्गाबाट – नौबिसे र नौबिसे – मलेखु २ प्याकेजका लागि हाल ठेक्का प्रक्रिया शुरु भएको छ । यसका लागि नेपाली र अन्तरराष्ट्रिय दुबै निर्माण कम्पनीले आबेदन हालेका छन । नागढुङगाबाट नौबिसे सडक २ वर्षमा र नौबिसे – मलेखु सडक ३ वर्षमा सम्पन्न गरिने प्रमुख कार्कीले बताए । तेस्रो ठेक्काका रुपमा रहेको मलेखुबाट मुग्लिनसम्मको पनि असारसम्ममा ठेक्का प्रक्रियामा जाने गरि तयारी भएको प्रमुख कार्कीले बताए । ठेक्कामा जान आवश्यक तयारी सकेर आयोजनाले कागजात विश्व बैङ्कलाई पठाएको थियो ।

हाल प्रक्रियामा रहेका २ ठेक्का बैशाख १५ गतेसम्ममा प्रक्रियामा जान सक्ने प्रमुख कार्कीले बताए । ठेक्का सम्झौता पहिले कसैको गुनासोका लागि आशयपत्र निकालिएको छ । त्यो नभएपछि सम्झौता गर्न सकिने उनले बताए । अबको केही समयमा नै वैदेशिक सहायता समन्वय महाशाखाले सम्झौता गर्ने उनले बताए ।

सडक अधिकांश स्थानमा ३ लेनमा निर्माण गरिने भएपनि बजार ठाउँमा ४ लेन हुने छ । विस्तार नै गर्न नसकिने ठाउँमा भने २ लेन मात्रै पनि हुन सक्ने प्रमुख कार्कीले बताए ।

सडक विभागले यस अघि नै मुग्लिन – नारायणगढ सडक विस्तार गरिसकेको छ भने नारायणगढ – बुटवल सडक निर्माणाधीन छ । यी सडक ४ देखि ६ लेनसम्म विस्तार गरिएको भए पनि नागढुङ्गा – मुग्लिन सडक कम चौडाइमा निर्माण हुने योजनाले जनाएको छ । यो सडकमा विस्तारसँगै भइरहेका सडक र पुलको सुधार तथा मर्मतमा पनि ध्यान दिइने प्रमुख कार्कीले बताए । बजार क्षेत्रमा ४ लेनसम्म विस्तार हुने भए पनि पहाडी क्षेत्रमा २ लेनमा नै निर्माण गरिने छ । मलेखु , गजुरीलगायतका क्षेत्रमा ४ लेनसम्म विस्तार हुने छ ।

सडकमा निर्माणको काम गर्दा सवारी व्यवस्थापन चुनौतीपूर्ण रहेको आयोजनाले जनाएको छ । बैकल्पिक सडक नहुँदा सवारीसधन अर्कोतर्फ मोड्न ( डाइभर्ट ) गर्न सकिने छैन । सवारीसाधन एकातर्फीरुपमा सञ्चालन गरेर अर्का तर्फबाट निर्माणको काम गरिने प्रमुख कार्कीले बताए । सडक निर्माणका क्रममा सकेसम्म नागरिकलाई कम दुःख परोस भनेर ध्यान दिइने उनले बताए । उनले भने , “ बुटवल – नारायणगढ सडक बनाउँदा नागरिकले दुःख पाएकाले यहाँ सकेसम्म व्यवस्थापन गर्न लागिने छ । ” सडक विस्तारका लागि वर्षामा पहाड खन्ने काम नगर्ने प्रमुख कार्कीले बताए ।

आयोजना सडक निर्माणका लागि जग्गा प्राप्तीको काममा विगत ६ महिनादेखि लागेको छ । निर्माणस्थलमा केही घर – टहरा रहेकामा तीनलाई क्षतिपूर्ति दिएर हटाउन लागिएको छ । बन कटानका लागि प्रक्रिया अघि बढाइएको छ र मन्त्रीपरिषद्बाट निर्णय आएपछि ठेक्का लागेपछि हटाइने छ । उनले भने , “ कटानको स्विकृति भएपछि ठेक्काबाट निर्माणस्थलमा रहेका रुख हटाइने छ । ”

नागढुङ्गा चेकप्वाइन्टबाट शुरु भएर मलेखुसम्मको सडकले काठमाडौं , धादिङ र चितवान गरि ३ जिल्लालाई समेट्छ । यो सडकमा विस्तारभन्दा पनि सुधारका काम बढी हुने विभागले बताउँदै आएको छ । सबैभन्दा बढी सवारीसाधन भित्रने र बाहिरिने नाका भएकाले सडक सुरक्षाका लागि आवश्यक कुराको निर्माणमा ध्यान दिइने छ र मोड सुधार गर्ने , पुल थपिनेलगायतका काम गरिने छ ।

यो खण्डमा अधिकांश स्थानमा सडकको चौडाइ झण्डै १० देखि ११ मिटरसम्म हुने छ । ‘ डेडिकेटेड ’ २ लेनमा चौडाइ ७ मिटर हुने छ भने त्यसमा दायाँबायाँ १/१ मिटर गरि २ मिटरमा ‘ सल्जर ’ निर्माण हुने छ । यसले गर्दा सडक सुरक्षित हुने , गाडी बिग्रिएमा पार्किङ गर्न मिल्ने र अत्यावश्यक समयका लागि प्रयोग गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय