बाराको सिमरा विमानस्थल हिजो देखि १८ घण्टा सन्चालनमा आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले रात्रिकालीन उडान गर्न मिल्ने सिमरा सहित तराई मधेसका ७ वटा विमानस्थल बिहीबारदेखि १८ घण्टा खुल्ला गरेको हो ।
काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दै गइरहेको एयर ट्राफिकको चाप कम गर्न तराई मधेसका ७ विमानस्थलको सन्चालन अवधि ६ घण्टा थप गरिएको प्राधिकरणले जनाएको हो ।
मधेस प्रदेशको सिमरा, जनकपुर, प्रदेश १ को झापाको चन्द्रगढी, विराटनगर, लुम्बिनी प्रदेशको भैरहवाको गौतमबुद्ध, नेपालगन्ज र धनगढी विमानस्थल बिहीबारदेखि दैनिक १८ घण्टा सन्चालन गरिएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले जानकारी दिए ।
यसअघि सिमरा सहित सात वटै विमानस्थलबाट साँझ ६ बजेसम्म मात्र हवाइ उडान हुदै आएकोमा बिहीबारदेखि भने राति १२ बजेसम्म हवाइ उडान हुनेछ ।
उडान समय थप हुँदा हवाई चाप व्यवस्थापनमा सहज हुनुका साथै जहाज डिले हुने समस्या समेत कम हुने प्राधिकरणका महानिर्देशक अधिकारीले बताए ।
कोभिड महामारीपछि आन्तरिक तथा बाह्य यात्रुको संख्या बढ्नुका साथै उडान संख्या पनि बढ्दै गइरहेको छ ।
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा हवाई चाप बढ्दा व्यवस्थापनमा समस्या भएपछि तराई मधेसका ७ वटा विमानस्थलको उडान अवधि थप गरिएको हो ।