बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रबाट उम्मेदवार एजेण्डाविहिन देखिएका छन् । मनोनयन दर्ता गरेदेखि घरदैलो र चुनावी कार्यक्रममा व्यस्त रहेका पौडेलले अहिलेसम्म एमालेलाई आरोप लगाएर मत माग्ने बाहेक अरु एजेण्डा प्रस्तुत गर्न सकेनन् ।
पछिल्लो १५ दिनमा पौडेलले मतदातासंग मत माग्दा एमालेलाई गाली गरेर मत मागेको देखियो । अघिल्लो पटकको निर्वाचनमा तेस्रो स्थानमा रहेका पौडेल यसपटक कांग्रेस कार्यकर्ताको भोटले चुनाव जित्नेमा विश्वस्त देखिन्छन् । तर कांग्रेस कार्यकर्ता भने आफ्नो पार्टीले नगर प्रमुख पदमा उम्मेदवारी दिन नपाएको असन्तुष्ट छन् ।
अघिल्लो निर्वाचनमा आफ्ना १० वडाध्यक्ष प्रयोग गरेर एमाले नेतृत्वको स्थानीय सरकारलाई असहयोग गर्दै आएको आरोप लागेका माओवादी केन्द्रका उम्मेदवार पौडेल यसपटक एमाले असफल भयो भन्दै मत माग्ने गरेको सिमराका स्थानीय सुनिल थापाले बताए । अख्तियारले सोधपुछका लागि पठाएको पत्रलाई नै माओवादी उम्मेदवार पौडेलले आफ्नो चुनावी एजेण्डा बनाएको थापाले बताएका छन् ।
चुनावमा भोट माग्दै मतदातासंग भोट मागिरहेका पौडेलले आफ्नो नेतृत्वमा मात्रै उपमहानगरले विकास गर्न सक्ने दावी गर्दै आएका छन् । यसअघि उपमहानगरको कार्यपालिकामा अल्पमतमा रहेको एमाले नेतृत्वको स्थानीय सरकारले गरेको अधिकांश निर्णय माओवादी वडाध्यक्ष र चार कार्यपालिका सदस्यले विरोध गर्ने गरेको तथ्य यसअघि बाहिर आएको थियो ।
एमालेको सरकार असफल बनाएर आफू चर्चामा आउने र मतदाताको सहानुभुति भोट पाएर नगरको प्रमुखमा जित्ने योजना पौडेलको रहेको स्थानीयको आरोप छ । आफ्नो स्वार्थका लागि वडाध्यक्ष र कार्यपालिका सदस्य प्रयोग गरेर नगरको विकासका गतिविधिलाई रोक्न पौडेलले चालेको कदमलाई स्थानीयले रुचाएका छैनन् ।
२० वर्षपछि बनेको स्थानीय सरकारलाई असफल बनाउन र नागरिकसंग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माणका कामलाई प्रभावित हुने गरी पौडेलले गरेको असहयोगको स्थानीय स्तरमा टिकाटिप्पणी भईरहेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्नुभन्दा अगाडी माओवादीका उम्मेदवार पौडेलले आफ्ना पार्टीका वडाध्यक्षलाई छुट्टै राखेर असहयोग गर्ने गरी अगाडी बढ्न निर्देशन दिने गरेको तथ्य यसअघि नै बाहिर आएको थियो ।
यता नगरभित्रको सामाजिक गतिविधिमा खासै सक्रिय नरहेका कारण पनि नगरबासीमा उनको खासै परिचय छैन् । शहरी क्षेत्रमा र सामाजिक संजालमा केही चर्चा बटुलेका पौडेललाई ग्रामिण भेगका नागरिकले भने अहिले पनि चिन्दैनन् । पौडेल शहर केन्द्रीत भएर राजनिति गर्न रुचाउने गरेको स्थानीयको भनाई छ ।
माओवादी भित्रकै ठुलो शक्तिलाई पन्छाएर टिकट उम्काउन सफल भएका पौडेलले उपमहानगरपालिकाको दोस्रो शक्तिको रुपमा रहेको कांग्रेसलाई उपप्रमुखमा खुम्चाएका थिए । माओवादी भन्दा बलियो रहेको कांग्रेसलाई उपप्रमुख पद दिएर माओवादीले प्रमुख पद प्राप्त गरेको थियो । कांग्रेससंग मुख्य दुई पदमा मात्रै तालमेल गरेको माओवादीले वडा तहमा भने कांग्रेसकै विरुद्ध आफ्नो उम्मेदवार अघि सारेको छ ।
वडातहमा कांग्रेसका उम्मेदवारलाई हराएर आफ्नो वडाध्यक्ष जिताउन लागिपरेका पौडेल प्रमुख पदमा भने तिनै कांग्रेस कार्यकर्ताको मतले चुनाव जित्नेमा आशावादी छन् । कांग्रेस भने प्रमुख पद लिएर वडातहमा मिलाउन नसकेको माओवादीसंग असन्तुष्ट छ । गठबन्धन भित्रकै अर्को दल जसपाले वडातहमा तालमेल नभएको कारण प्रमुख पदको उम्मेदवार लिएर वडामा घरदैलो गर्न सक्ने अवस्था नरहेको बताईसकेको छ ।