काठमाडौं : सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश जारी गरेको छ।
बिहीबार न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय परमादेशमार्फत बदर गरेको हो। परमादेशमा आवश्यकताअनुसार निजगढको विकल्पमा खोज्न पनि भनिएको छ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा रुख काट्न नहुने, जंगल विनाश तथा कंक्रिट बनाउनेगरी भएको निर्णय खारेजीको माग गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेलगायतले रिट दायर गरेका थिए।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले निजगढ विमानस्थलसम्बन्धी सरकारका सम्पूर्ण निर्णयहरु बदर हुने आदेश भएको बताए। इजलासले निजगढ विमानस्थल ऐनकानुन र वातावरणीय प्रभाव मूल्यांकनको दृष्टिकोणले उपयुक्त नभएको निष्कर्ष निकालेर परमादेश जारी गरेको हो।
निजगढमा रुखहरु काटेर विमानस्थल नबनाउन वातावरणसम्बन्धी संघसंस्था र सरोकारवालाले विरोध जनाउँदै आएका थिए।