सिमरा, जीतपुरसिमरा ४ औराहास्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाको अवसर पारेर संस्थाले आफ्नो नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेको छ । भवनको उद्घाटन नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालले गरेका हुन् । साधारण सभाको प्रमुख अतिथि समेत रहेका पौड्यालले घण्टीमाई सहकारी उत्कृष्ट संस्थाको रुपमा अघि बढिरहेको बताएका छन् ।
सहकारीको सिद्धान्त र उदेश्यमा केन्द्रीत रहेर संस्था अघि बढाउन सके सबै संस्था सफल हुने पौड्यालले बताएका छन् । अध्यक्ष पौड्यालले समुदाय र सदस्य केन्द्रीत भएर सहकारी संस्थाहरुले काम गर्नुपर्ने बताए । सदस्यको बिश्वास जितेर र संस्थाको पारदर्शितलाई ध्यानमा राखेर अघि बढ्ने संस्था सधै सफल हुने उनको भनाई थियो ।
साधारणमा सभामा मधेस प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा, जीतपुरसिमराकी निवर्तमान नगर उपप्रमुख सरस्वतीदेवी चौधरी, नेफ्स्कुनका कार्यकारी अधिकृत प्रकाश पोखरेल, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुर, औराह उपभोक्ता सहकारी संस्थाका अध्यक्ष पूर्णचन्द्र तिमिल्सिना, हातेमालो बचत तथा ऋण सहकारी संस्थाका सचिव दीपक भट्ट, राष्ट्रिय सहकारी बैंक सिमराका प्रमुख सुरेश लागे, संचारकर्मी विदुर खड्कालगायतले मन्तब्य राखेका थिए ।
संस्थाले साधारण सभाको अवसर पारेर कार्यालय भवन निर्माण सहयोग पुर्याउने मधेस प्रदेश सभा सदस्य बिश्वकर्मा, निवर्तमान नगर उपप्रमुख चौधरी र युवा व्यवसायी नविन अधिकारीलाई सम्मान गरेको छ । यसैगरी जेष्ठ शेयर सदस्यका रुपमा दुर्गालक्ष्मी खरेल, दुर्गाप्रसाद भट्ट, उत्कृष्ट व्यवसायी कृषक नजरा खातुन, उत्कृष्ट ऋणी युवराज पौडेल र कविता हुमागाईं, उत्कृष्ट कर्मचारीबाट बजार सहायक सरस्वती लामिछानेलाई सम्मान गरेको छ ।
कार्यक्रममा यस वर्ष उत्कृष्ट अंक ल्याउदै एसइइ उतिर्ण गर्ने औराहस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी निकेश राम र मुस्कान थापामगरलाई संस्थाले सम्मान गरेको थियो । कार्यक्रमकै अवसर पारेर संस्थाले संचारकर्मी सिता अधिकारीलाई यस वर्षको घण्टीमाई सहकारी पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा संस्थाकी अध्यक्ष कोपिला सिंखडाले प्रगति प्रतिवेदन राखेकी थिईन । प्रतिवेदनअनुसार करिब एक हजार पाँच शेयर सदस्य रहेको घण्टीमाई सहकारीले यस वर्ष झण्डै १८ करोडको कारोवार गरेको छ । सिंखडाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव भवन खड्काले गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष थानेश्वर पाध्यले राखेका थिए ।