धनुषाको एक नगरपालिकाका मेयरले आफ्नो कार्यकक्षमै एक युवकलाई खुट्टा मालिस गर्न लगाएको तस्बीर यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ।
उक्त तस्बीर हो धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासको। तस्बीरमा मेयर आरामले खुट्टा तेर्स्याएर सोफामा सुतेका छन् भने एक युवकले उभिएर उनको खुट्टा थिचिरहेको देखिन्छ।
ढोका बन्द गरेर मेयरले खुट्टा मालिस गराइरहेको तस्बीर कसैले झ्यालबाट खिचेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेपछि तस्बीर भाइरल बनेको छ। मेयर दासको खुट्टा मालिस गर्ने कार्यालय सहयोगी करन दास हुन्।
दास नेकपा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित हुन्। पछिल्लो समय उनी नेकपा एमालेमा गएपछि माओवादी केन्द्रले उनलाई स्पष्टीकरण सोधेको थियो। विवादमा आएका मेयर दासले आफूलाई सञ्चो नभएकोले भाइ नाता पर्ने कार्यालय सहयोगीलाई मालिस गर्न लगाएको प्रतिक्रिया दिएका छन्।
उनले भने,‘कोरोना भाइरस विरुद्धको भ्याक्सिन लगाएपछि हातखुट्टा दुखेर बिसञ्चो भयो अनि भाइ कार्यालय सहयोगी भएको नाताले थिच्न लगाएको हो।’ मेयर दासका अनुसार कार्यालय सहयोगी करन उनका काकाका छोरा हुन्।
विदेश जाने तयारी गरेका करन कोरोना महामारीको कारण विदेश जान नपाएपछि आफैले नगरपालिकामा जागिर लगाइदिएको दासले बताए।
 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय