सिमरा, क्वेष्ट नेपाल अन्तर्गतका सिमरा हब र युनाइटेड हब तथा ब्राइटर एकेडेमी, सिमरा को संयुक्त सहकार्यमा भाद्र २९ —३० गते विद्यार्थी गुणीय चक्रको आठौं हब सम्मेलन ब्राइटर एकेडेमी, सिमरामा आयोजना हुन गइरहेको छ । उक्त कार्यक्रममा बारा जिल्ला र मकवानपुर जिल्लाका १२ विधालयका १९ विधार्थी गुणीय चक्रका समूहहरुले भाग लिन गइरहेका छन् । अक्षरा पाठशाला, ब्राइटर एकेडेमी, एक्स– सर्भिसमेन चिल्डे«न एकेडेमी, लोटस एकेडेमी, मिशन एकेडेमी, नवोदय शिशु सदन
(हेटौंडा), न्यू एकता इङलिस बोडिङ स्कूल, पाथीभारा इङलिस बोडिङ स्कूल, प्रोगेश एजुकेशन एकेडेमी, राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन,सिमरा पब्लिक इङलिस स्कूल, शुभतारा इङलिस बोडिङ स्कूल सहभागी हुन गइरहेका छन् । उक्त कार्यक्रममा मुख्य कार्यक्रमहरु (केस स्टडी प्रस्तुति, प्यानल छलफल, मान्सा मेमोरियल सर्वगुणसम्पन्न गुणीय व्यक्ति अवार्ड), प्रतिष्पर्धात्मक कार्यक्रमहरु (सहकार्यात्मक कोलाज प्रतियोगिता, सहकार्यात्मक कथा लेखन प्रतियोगिता, सहकार्यात्मक गुणीय हाजिरजवाफ प्रतियोगिता, सहकार्यात्मक अंग्रेजी हिज्जे प्रतियोगिता) तथा जीवनउपयोगी सीप कार्याशालाहरु (कम्प्यूटर कोडिङ कार्यशाला, वन्यजन्तु संरक्षण कार्यशाला, सिर्जनात्मक सीप कार्यशाला, रेडियो उद्घोषण कार्यशाला, विज्ञान कार्यशाला) जस्ता कार्यक्रमहरुको आयोजना हुदैछ । प्रतिष्पर्धात्मक कार्यक्रमहरुका लागि एक विद्यालयका विद्यार्थीहरुलाई मात्र प्रतिष्पर्धामा सहभागी नबनाइ एक विद्यालय का विद्यार्थीलाई अर्को विद्यालयका विद्यार्थीसँग समूह बनाई प्रतिष्पर्धा गराइने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय शैक्षिक व्यक्तिहरुको उपस्थिती रहने जनाइएको छ । उक्त कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले गर्ने बताइएको छ ।
के हो विद्यार्थी गुणीय चक्र ?
विद्यार्थी गुणीय चक्र एक शैक्षिक क्षेत्रमा एक नवीनतम दृष्टिकोण हो । विद्यार्थीहरुले ४ देखि १० जना सम्मको समूह बनाई आफ्नो विद्यालय तथा आफ्नो वरिपरि भएका समस्याहरु मध्ये आफ्नो प्रयासले मात्र समाधान गर्न सक्ने प्रमुख समस्याको पहिचान गरी त्यस समस्याको अवलोकन, विश्लेषण गरी उपयुक्त विद्यार्थी गुणीय चक्र विधि तथा प्रक्रिया अपनाई उक्त समस्याको समाधान गर्दछन् । अन्ततः विद्यार्थी गुणीय चक्रले विद्यार्थीलाई अग्रगामी र असल गुण भएको सर्वगुणसम्पन्न व्यक्ति निर्माणमा सहयोग पु–याउँछ ।
विद्यार्थी गुणीय चक्रले आत्म विश्वासी, आत्म अनुशासित, अन्तर्वैक्तिक सम्बन्ध, समानुभूति , सामाजिक उत्तरदायित्व बहन, समय व्यवस्थापन कला, बैज्ञानिक तथा विश्लेष्णात्मक सीप, संचार सीप, सिर्जनात्मक तथा पाश्र्व सोच, सहकार्यात्मक तथा सहयोगात्मक भावना, समूहमा काम गर्ने बानी र फराकिलो दृष्टिकोण जस्ता एक्काइसौं शताब्दीमा चाहिने सीपहरुको विकासमा मद्दत पु–याउँछ ।