अग्ला डाँडाकाँडा र पहाडमा भ्यू टावर बनाउने लहड चलिरहेका बेला प्राकृतिक ‘भ्यू टावर’ बेलढुङ्गा एकाएक चर्चामा आउँदै थियो।
बेल आकारको ढुङ्गा दुई हजार ११८ मिटरको उचाइमा थियो। जहाँबाट सुन्दर हिमशृङ्खलादेखि दुई विभिन्न जिल्लाका गाउँघर र प्राकृतिक मनोरम दृश्य देखिन्छ।
तर, २०७७ साल भदौमा बेलढुङ्गाको माथिल्लो भाग भत्कियो। २०७२ सालको भूकम्पको पटक-पटकको धक्का र ढुङ्गामा बनाइएका केही संरचनाका कारण माथिल्लो भाग भत्किएको स्थानीयबासी बताउँछन्।
बागलुङको काठेखोला गाउँपालिका-३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको सीमामा अवस्थित बेलढुङ्गाको माथिल्लो भाग भत्किएपछि यसको थप पूर्वाधार विकास र प्रवर्द्धनमा धक्का पुगेको आकलन र संशय सर्वत्र थियो। तर, दुवै जिल्लाका स्थानीयबासीको पहल र प्रयत्नपछि अहिले फेरि बेलढुङ्गा नयाँ स्वरूपमा उठ्न थालेको छ।
ढलेको वर्ष दिन नबित्दै स्थानीयबासीको पहलमा काठेखोला गाउँपालिका, गण्डकी प्रदेश सरकारको सहयोगमा बेलढुङ्गा क्षेत्रमा पर्यटन पदमार्ग, बेलढुङ्गादेखि पञ्चकोटतर्फ आउने साइकलल्याण्ड, पर्यटकीय सूचना बोर्ड लगायतका पूर्वाधार निर्माण गरिएको स्थानीय सामाजिक अगुवा गोपाल श्रीसले बताए।
कोरोनाका कारण अहिले पर्यटकीय क्षेत्र सुनसान प्रायः बनिरहेको अवस्थामा यहाँका स्थानीयबासीले भने बेलढुङ्गाको पुनःनिर्माण, पदमार्ग र साइकल लेन लगायतका पूर्वाधार निर्माणको कामलाई गति दिएका छन्।
बेलढुङ्गाबाट देखिने धौलागिरि, निलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, गुर्जा लगायतका दर्जन बढी हिमशृङ्खला, हरियाली जङ्गल र धौलागिरिका म्याग्दी, पर्वत, बागलुङका करिब तीन दर्जन गाउँबस्ती, महत्वपूर्ण धार्मिक र ऐतिहासिक क्षेत्रलाई अवलोकन गर्न सकिने हुनाले पछिल्लो समय यो पर्यटकीयस्थल चर्चित बन्दै गइरहेको छ। बेलढुङ्गा आउने पर्यटकलाई लक्षित गरी ओखलेमा बेलढुङ्गा सामुदायिक घरबास (होम स्टे) समेत सञ्चालनमा छ।
एक पटक लडेको बेलढुङ्गा पुनः उठाउने प्रयास निरन्तर जारी छ।
‘पुरानै अवस्थामा ल्याउन त सम्भव छैन तर यसलाई केही पुनः संरचना निर्माण र व्यवस्थित गर्ने प्रयास हुँदैछ’, बेलढुङ्गा होम स्टे व्यवस्थापन समितिका सचिवसमेत रहेका श्रीसले भने, ‘धेरै राम्रो सम्भावना देखेका छौं, कोरोनाले हामीलाई केही सकस बनाएको छ, यहाँ आउने जो कोही निकै लोभिएर आनन्द लिएर फर्कने गरेका छन्।’
अहिले गाउँपालिकाको रु दुई लाख ५९ हजार लागतमा बेलढुङ्गालाई फराकिलो र व्यवस्थित बनाउनुका साथै गण्डकी प्रदेश सरकारको २० लाख बजेटमा देउरालीबाट बेलढुङ्गासम्म पुग्ने २६० मिटर स्लेट ढुङ्गा विच्छ्याएर पदमार्ग निर्माण गरिएको छ भने बेलढुङ्गाबाट पञ्चकोटतर्फ २५० मिटर साइकल ल्याण्ड बनाइएको छ। बेलढुङ्गा र पञ्चकोट झण्डै १० किलोमिटर साइकल लेन बनाउने योजना छ । पर्यटकहरुले पदमार्गको रुपमासमेत प्रयोग गर्न सक्नेछन्।
कोरोनाका कारण अहिले पर्यटक नआए पनि बेलढुङ्गाको पुनःनिर्माण जारी रहेको र यही शनिबार मात्रै काठेखोला गाउँपालिकाको सहयोगमा देउराली धुरी र बेलढुङ्गामा भ्यू प्वाइन्ट सूचना बोर्ड राखिएको बेलढुङ्गा पञ्चकोट पदमार्ग/साइकल लेन निर्माण समितिका अध्यक्ष प्रेम घर्तीले जानकारी दिए।
स्थानीयबासी दिल शिरिषको पहलमा काठेखोला गाउँपालिकासँगको समन्वयमा देउराली र बेलढुङ्गामा आकर्षक पर्यटकीय सूचना बोर्ड राखिएको हो।
‘कोरोना महामारीकाबीच २६० मिटर पदमार्ग, २५० मिटर साइकल लेन र २०० मिटर कच्ची साइकल लेन निर्माण गरेका छौं’, अध्यक्ष घर्तीले भने, ‘ताराखोलाको स्लेट ढुङ्गा छापेर बनाइएको पदमार्ग र साइकल लेनले पर्यटकलाई झनै आर्कषित गर्नेछ, कोरोनापछि पर्यटकको आगमनमा ह्वात्तै वृद्धि हुने अपेक्षा समेत गरिएको छ।’
बेलढुङ्गा क्षेत्रको समग्र विकास र प्रवर्द्धन गर्न अहिले बेलढुङ्गा तल देउरालीसम्म मोटरबाटो पुर्याइएको छ।
देउराली धुरिदेखि बेलढुङ्गासम्म स्लेट ढुङ्गाको पदमार्ग बनाइएको छ। उक्त स्थानबाट म्याग्दीको पर्यटकीय गन्तव्य स्वर्गाश्रमलाई समेत सडक मार्गले जोडिएको छ।
बाह्रै महिना हिमशृखङ्ला र प्राकृतिक भू–बनोटलाई अवलोकन गर्न सकिने यस क्षेत्रमा चैत–वैशाखमा फुल्ने रातो, सेतो लालीगुराँसले मनमोहकता थप्दछ भने वैशाख मध्यमा माछापुच्छ्रेको खोचबाट सूर्योदय हुने गरेको छ।
बिहान उदाउने सूर्योदय पनि यहाँको मुख्य आकर्षण हो। रासस
ADVERTISEMENT