विश्वभर फैलिएकाे काेराेना महामारीका कारण एक वर्षपछि सरेको युरोपेली च्याम्पियनसिप अर्थात युरोकप २०२० शुक्रबारदेखि अर्थात आजैदेखि सुरु हुँदैछ । मिनी विश्वकपको रुपमा चिनिने युरोकपको यो १६ औं संस्करण हो । जसमा कूल २४ टिमले प्रतिस्पर्धा गर्दैछन् । त्यसमा ९ टिम त पूर्वविजेता मात्रै छन् । अहिलेसम्म १० टिमले उपाधि जित्दा ग्रीस मात्र यसपटक छनोट हुन सकेन । त्यसैले पनि यसपटक युरोकप प्रतिस्पर्धात्मक हुन सक्छ । युरोकपको ६० औं वर्षको अवसरमा यस पटक प्रतियोगिता ११ देशमा हुँदैछ । उदघाटन खेल इटाली र टर्कीबीच रोममा हुनेछ भने जुलाई ११ मा लण्डनस्थित वेम्बलीमा फाइनल खेल हुनेछ।उपाधि दाबेदार भएर पनि अहिलेसम्म युरोकप जित्न नसकेका बेल्जियम र इंग्ल्याण्ड पनि यस पटक खेल्दैछन्। पूर्व च्याम्पियनमध्ये डेनमार्क, रसिया र चेक रिपब्लिकलाई उपाधि दाबेदारको रुपमा हेरिएको छैन । डेनमार्क र नेदरल्याण्ड्स २०१६ मा छनोट हुन नसके पनि यस पटक पुनरागमन गरेका छन् । यसबाहेक सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा अप्रत्यासितरुपमा फाइनल पुगेको क्रोएसियाले पनि अर्को अप्रत्यासित नतिजा निकाल्न सक्छ । पोर्चुगल, फ्रान्स र जर्मनी एउटै समूहमा रहेकाले एक पूर्व विजेताको यात्रा समूह चरणबाटै समाप्त हुन पनि सक्छ । तर ६ वटै टिमको शीर्ष दुई टिमसँगै तेस्रो हुनेमध्ये चार टिम पनि प्रिक्वाटर फाइनलमा पुग्ने भएकाले तीनवटै टिम नकआउट पनि पुग्न सक्छन् । त्यसका लागि सबै ६ टिमको नतिजा र अन्य समूहको नतिजा निर्णायक हुनेछ । कोरोना महामारीले गर्दा गत वर्ष नै हुनुपर्ने युरोकप एक वर्ष पछि सरेको थियो ।
ADVERTISEMENT