दाङको लमहीबाट एक जना स्थानीयको भान्सा भित्र छिरेको चितुवा नियन्त्रणमा लिइएको छ।
शनिबार बेलुकी लमही नगरपालिका वडा नं. ८ उचानिम्बुस्थित गाउँमा गौशाला भित्र प्रवेश गरेपछि गाईको बाच्छामाथि आक्रमण गरि चितुवा निर्माणाधिन भान्सा घरमा छिरेको थियो।
बन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्दै आएका स्थानीय चिरञ्जिवी खनालका अनुसार शनिबार मध्य रातमा जंगलबीचमा निर्माण गरिएको गौशालाका गाईमाथि आक्रमण गरेर उक्त पोथी चितुवा पूजारीको निर्माणाधिन भान्सा कोठामा छिरेको थियो।
पूजारीले त्यो देखेर केही समय ढोका खुल्लै रहन दिए पनि चितुवा नगएपछि ढोका लगाएर थुनेका थिए।
त्यसरी थुनेर राखेको चितुवालाई नियन्त्रणमा लिन तथा उद्धारको लागि राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको सहयोग मागिएको थियो।
आइतबार दिउँसो डिभिजन वन कार्यालय देउखुरी र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको सहयोगमा डार्ट गरि चितुवा नियन्त्रणमा लिइएको वन्य जन्तु संरक्षणको क्षेत्रमा काम गर्दै आएका खनालले सेतोपाटीलाई बताए।
डार्ट गरि नियन्त्रणमा लिइएको खुट्टामा चोट पटक लागेको घाउहरु समेत देखिएको हुँदा बाँके राष्ट्रिय निकुञ्जमा केही दिन राखेर उपचार पछि जंगलमा छोडिने भएको छ ।
उक्त चितुवाले केही दिन पहिले मात्रै त्यहाँ एउटा बाख्राको खोरमा पसेर एकै रात नौं वटा बाख्राहरु मारेको थियो। त्यसपछि पनि उसले बीच/बीचमा गाईमाथि आक्रमण गर्दै आएको थियो। चितुवाले निरन्तर रूपमा पशु चौपायामाथि आक्रमण गर्न थालेपछि स्थानीय त्रसिद बनेका थिए।
ADVERTISEMENT