चितवन। आफुसँगै कार्यरत सैनिक साथीलाई गोली हानी मारेको आरोप लागेका नेपाली सेनाका सिपाहीलाई कर्तव्य ज्यान अभियोगमा चितवन जिल्ला अदालतमा मुद्दा दायर भए पनि अदालतले ती अभियुक्तलाई सैनिक अदालत बुझाउने आदेश गरेको छ ।
आफ्नै गणका हुद्दा भरत गुरुङलाई गोली हानेर मारेको आरोपमा चितवन प्रहरीले ‘दी फेमस महिन्द्र दल गण’ का सिपाही गंगाधर ढकाललाई पक्राउ गरेको थियो । ढकालविरुद्ध अनुसन्धान पूरा गरेर प्रहरीले दिएको प्रतिवेदनका आधारमा चितवन जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) को कार्यालयले दायर गरेको मुद्दामा चितवन अदालतले मंगलबार उक्त आदेश दिएको हो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले ढकाललाई सैनिक अदालत बुझाउने आदेश गरेको अदालतका स्रेस्तेदार ईश्वर आचार्यले जानकारी दिए ।
‘फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५१ ले अन्य अदालत वा निकायले हेर्नुपर्ने हो भने त्यतै पठाउने भन्ने प्रावधानअनुसार ढकालको मुद्दा सैनिक अदालतको विषय पर्ने देखिएको हुँदा त्यही अनुसारको आदेश भएको हो,’ स्रेस्तेदार आचार्यले भने । सरकारी वकिल कार्यालयका प्रमुख महेश खत्रीले ढकालविरुद्ध कर्तव्य ज्यानसहित हातहतियार खरखजना र चोरी मुद्दा दायर भएको थियो ।
ढकाललाई सैनिक अदालत बुझाउने आदेश आएपछि चितवन प्रहरीले उनलाई सेनाकै जिम्मा लगाएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाले जानकारी दिए । मार्ने, मर्ने दुवै नेपाली सेनामा कार्यरत रहे पनि बिदामा बसेका बेला व्यक्तिगत कारोबारको सिलसिलामा घटना भएको हुँदा यस्तो विषय सामान्य अदालतले नै हेर्न मिल्ने नजिर भएको एकजना कानुन व्यवसायीले बताए ।
हत्यामा भरतपुर ब्यारेकबाट हराएको एसएमजी प्रयोग
ढकालले हत्याका लागि प्रयोग गरेको हतियार भरतपुर ब्यारेकबाटै हराएको पत्ता लागेको थियो । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका डीएसपी सूर्य थापाले बयानको क्रममा ढकालले उक्त कुरा स्वीकार गरेको बताए । ‘फेला परेको हतियार भरतपुर ब्यारेकको कालीबहादुर गणबाट तीन वर्षअघि हराएको हतियारको नम्बर एउटै रहेछ,’ डीएसपी थापाले भने ।
दी फेमस महिन्द्र दल गण सिपाही गंगाधर ढकाललाई साउन ७ गते चितवन प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त गण हाल शिवपुरी राष्ट्रिय निकुञ्जमा तैनाथ छ । यसअघि सो गण भरतपुर ब्यारेकमा तैनाथ थियो । भरतपुर ब्यारेकमा हातहतियार कहाँ हुन्छ भन्ने पूर्वजानकारीका आधारमा ढकालले एसएमजी चोरेको अनुसन्धानबाट खुलेको डीएसपी थापाले बताए ।
धादिङ नीलकण्ठ नगरपालिका घर भएका ३६ वर्षका भरत गुरुङको शव साउन ७ गते बिहीबार बिहान भरतपुर–१७ सिमलडाँडामा फेला परेको थियो । ढकालको घर भरतपुर महानगरपालिका–२१ मा छ । घटना भएपछि उसै दिन प्रहरीले ढकाललाई भरतपुर–२० चनौलीबाट समाएको थियो । हतियार र त्यसमा प्रयोग हुने गोलीहरू अन्यत्रबाट बरामद भएका थिए ।
ढकाल पक्राउ परेपछि उनको बयानको आधारमा भरतपुर–८ बीसहजारी ताल जाने गेट आडको जंगलको झाडीबाट एसएमजी हतियार बरामद भएको थियो । एसएमजीमा प्रयोग हुने सात थान गोली पनि प्रहरीले बरामद गरेको थियो । बिदा लिएर जग्गा किन्ने सिलसिलामा चितवन आएका बेलामा यो घटना भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
गुरुङको चेकमा आफैं हस्ताक्षर गरेर पैसा झिक्थे ढकाल
हत्या हुनुभन्दा केही दिनअघि ढकालले गुरुङको चेकमा आफैं हस्ताक्षर गरेर बैंकबाट नौ लाख रुपैयाँ झिकेको प्रहरी अनुसन्धानले देखाएको थियो । गुरुङको बैंकको खाली चेक बोकेर ढकाल साउन २ गते नै चितवन आएका थिए । भोलिपल्ट चेकमा भरत गुरुङको सही आफैंले गरेर ढकालले बैंकबाट नौ लाख रुपैयाँ निकालेको खुलेको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी ओम अधिकारीले बताए ।
त्योमध्ये एक लाख रुपैयाँ ढकाल आफैंले राखेको, ८ लाख रुपैयाँ ढकालले आफ्नो परिवारलाई दिएको एसपी अधिकारीको भनाइ छ । साउन ५ गते गुरुङले ढकाललाई फोन गरेर आफू जग्गा पास गर्न चितवन आउन लागेको जानकारी गराएका थिए । त्यसपछि गुरुङलाई लिन ढकाल नै मोटरसाइकल लिएर काठमाडौं गए । पाँच गते उनीहरू चितवन आएर होटलमा बसेको एसपी अधिकारीले जानकारी दिए ।
भरत गुरुङ भोलिपल्ट मात्रै भरतपुर–१९ शारदानगर टाउनमा रहेको आफन्तको घर गए । ढकालले आफन्तको घरबाट ६ गते साँझ गुरुङलाई खाजा खान भनेर बोलाए । ‘त्यसपछि मोटरसाइकलमा नै राखेर विभिन्न ठाउँमा रातभर डुलाए । घुमाउँदै रक्सी पनि टन्नै खुलाएको देखिन्छ,’ एसपी अधिकारीले भने । घटना भएको ठाउँमा साउन ७ गते बिहीबार बिहान पाँच बजेतिर मात्रै पुर्याएको प्रहरीको अनुसन्धानले देखाएको थियो ।
ADVERTISEMENT